नवनियुक्त तीन मन्त्रीद्वारा पदभार ग्रहण : कसले के भने ?
काठमाण्डौ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रीत गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताएका हुन् । उनले चुस्त र दुरुस्त ढंगबाट सवैलाई कानून बराबर गर्ने बिषय आफ्नो प्राथमिकता हुने जिकिर गरे । गुरुङले कानूनभन्दा माथि कोहि पनि नहुने भन्दै कानून बमोजिम सवै अघि बढ्नुपर्ने धारणा राखे । जुनसुकै ठाँउमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले स्पष्ट पारे । उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने बताए ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मुलुकभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बस्नेतले संक्रामक एवं महामारीको रुपमा रोगहरु फैलन नदिन संघ, प्रदेश र स्थानीय तहसंगको समन्वयमा दातृ निकाय एवं संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । बस्नेतले मन्त्रालयमा धेरै काम गर्नुपर्ने भन्दै सवै कर्मचारीहरुको साथ लिएर अघि बढ्ने बताए । त्यस्तै उनले स्वास्थ्य संस्था मार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थीत, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् भने नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने निर्णय गरेका छन् ।
त्यस्तै नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पुरा गर्नका लागि अध्ययन अघि बढाउने बताएका छन् । बिहीबार राष्ट्रपतिसमक्ष सपथ ग्रहणपरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्वुले सवै पक्षसंग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरि यसलाई समाधान गर्दै देशको नाम आउने गरि काम गर्ने बताएका हुन् । उनले सवैको सल्लाह र सुझावका आधारमा काम गर्ने बताए । मन्त्रालयबाट आवश्यक कानून बनाएर यस क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । उनले खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुराएर यस क्षेत्रलाई अघि बढाउन सकारात्मक प्रयास गर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया