नक्कली शरणार्थी प्रकरणले प्रचण्ड–ओली आमने–सामने
काठमाण्डौ । नक्कली भूटाणी शरणार्थी प्रकरणका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भूटाणी शरणार्थी प्रकरणका बिषयमा चासो राखेका थिए । यसअघि हिजोको भेटमा पनि ओलीले शरणार्थी प्रकरणमा एमाले नेता मुछिएकोबारे चासो राखेका थिए ।
कतिपयले एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलगायतलाई उन्मुक्ति दिन ओली सक्रिय भएको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहालले भने आफु कुनै दवावमा नपर्ने स्पष्ट पारेका छन् । भेटपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले नक्कली भूटाणी शरणार्थी प्रकरणका दोषी कोहिले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । दाहालले प्रक्रिया, पद्धती र ऐन अनुसार कारवाही अघि बढ्ने बताए ।
त्यस्तै एमाले अध्यक्ष ओलीले नक्कली भूटाणी शरणार्थी प्रकरणका अभियुक्तलाई एमालेले बचाउन लागेको भन्दै केहि एमाले विरोधी व्यक्तिहरुले हल्ला चलाएको जिकिर गरे । दाहाल र ओलीबीच यसअघि बिहीबार पनि भेटवार्ता भएको थियो ।
नक्कली भूटाणी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हुदा पनि उनी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिररहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया