शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने ओलीको प्रतिबद्वता
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पु¥याउने जानकारी गराएका हुन् । उनले उक्त प्रकरणमा आफ्ना नेतामाथि लागेको आरोपको प्रमाण आफुसंग नभएको र त्यसलाई सम्बन्धीत निकायले अनुसन्धान गरिरहेकाले केहि भन्न नसकिने पनि बताए ।
छानबिनका क्रममा कुनै पनि पूवाग्रह राख्न नहुने ओलीले बताए । त्यस्तै बैठकमा ओलीले आफुलाई भेट्न बोलाएपछि प्रधानमन्त्रीलाई भेट्न गएको स्पष्ट पारे । बाहिर चर्चा चलेजस्तो कोहि नेतालाई जोगाउनका लागि आफुले प्रधानमन्त्रीलाई नभनेको ओलीले स्पष्ट पारेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकले संसदको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया