एक करोड गैरकानुनी रुपँमा आर्जन गरेका चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको भनाइ छ । त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले उनले गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा असुल गर्न माग गरेको छ । अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश
प्रतिक्रिया