बीपीको विचारमा कांग्रेसको मन्थन : देउवा र शेखरको धारणामा भिन्नता
काठमाण्डौ । आज बीपी कोइरालाको ११० औँ जन्मजयन्ती । यसै अवसर पारेर नेपाली कांग्रेसले बीपी साहित्य महोत्वसको आयोजना गरेको छ । जन्मजयन्तिका अवसरका बीपीको सिद्धान्त कांग्रेसले अनुशरण गरेको र नगरेको विषयमा फरक फरक मत आउने गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै देउवाले बीपीकै चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको धारणा राखे ।
मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उनले समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि व्यवहारमा अनुभूति गर्न नसकेको स्वीकार गरे । बीपीको विचारलाई पर्याप्त छलफल तथा बहस गराउन नसक्नु कांग्रेसको कमजोरी भएको बताउँदै उनले आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको धारणा राखे ।
निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको उनले बताए । सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताए ।
उता चितवन पुगेका नेपाली काग्रेसका नेता डाक्टर शेखर कोईरालाले भने वीपीको समाजबाद ब्यबहारमा लागु हुन नसकेको स्पष्ट पारेका छन् । चितवनमा आयोजित ११०औ वीपी जयन्तीको अबसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रममा सहभागि हुँदै नेता कोइरालाले वीपीले भने जस्तो गरीब असाहय र समाजमा पछाडी परेकाहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको उल्लेख गरे । उनले वीपीको समाजबाद पनि ब्यबहारमा लागु हुन नसकेको धारणा राखे ।
अग्रज नेताहरुको सम्झनामा बनाईएका शालिकहरु आन्दोलनको क्रममा तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनको भनाइ थियो । नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य शहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे । अहिले कांग्रेस यी कुराबाट बिचलित भएको आभाष हुन थालेको उनले बताए ।
भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा उक्त शालिक निर्माण गरिएको हो । उक्त स्थानमा २०५३ सालमा ढलोटको पुर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया