एसिया कपमा भारतको दबदबा, फाइनलमा श्रीलंकालाई निरीह बनाउँदै उपाधी कब्जामा
श्रीलंका । भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कप आठौं पटक जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् ।
जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् ।
यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया