एसियन गेम्स पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित, नेपालविरुद्ध अम्पायरको निर्णय
चीन । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजितहुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतीय टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतविरुद्धको खेलमा नेपाल खराब अम्पायरिङको शिकार बनेको छ । दुवै इनिङमा अम्पायरका दुई विवादित निर्णय नेपालको निम्ति घातक बने । १०औं ओभरको तेस्रो बलमा एसस्वी जैसवालमाथि एलबीडब्लु आउटको कडा अपिल भएको थियो । दीपेन्द्रसिंह ऐरीले फ्याँकेको बललाई स्वीप गर्न खोज्दा जैसवाल बिट भएका थिए । नांगो आँखाले नै यो स्पष्ट एलबीडब्लु थियो । तर, अम्पायरले दिएनन् ।
दोस्रो इनिङमा पनि भारतलाई अम्पायरको निर्णयले साथ दियो । नेपालका ओपनर कुशल भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आउट भए । उनले अनलाइडमा आएको बललाई प्याडल गर्दा अवेश खानको हातमा पुग्यो । खानले डाइ गरेर क्याच लिए । तर क्याच लिएर डाइभ गर्ने क्रममा बल मैदानमा घस्रेको थियो । अनफिल्ड अम्पायरले थर्ड अम्पायरमा रिफर नगरिकन सीधै आउट दिएका थिए ।
भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनायो । ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा आउट भए ।
सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे । योसँगै एसियन गेम्समा क्रिकेटबाट नेपालको सम्भावना चुनौती सकिएको छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार
प्रतिक्रिया