काठमाडौं महानगरमा कृषियोग्य जमिन नरहेको निर्णय, कित्ताकाट खुल्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोज्य जग्गा शुन्य रहेको छ । काठमाडौं महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि कित्ताकाट खुलेको छ । बुधबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षता बसेको समितिको बैठकले भू–उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा महानगरपालिका भित्र कृषि योग्य जमिन नभएको निर्णय गरेको थियो ।
महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको मेयर शाहले जानकारी दिए । परिषद्को निर्णयअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशवण्डा फुक्का हुने उनको भनाइ छ । बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषियोग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुने प्रस्ताव पेश गरेका थिए ।
बैठकमा परिषदका सदस्य एवं कार्यपालिका सदस्याहरु सहभागी भएका थिए । भू–उपयोग ऐन २०७६ अनुसार सांस्कृतिक तथा पुरातात्विक महत्त्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था छ ।
ऐन अनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया