लगानीको वातावरण बनाउन सरकार कटिबद्ध छ : मन्त्री रिजाल

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय रमेश रिजालले लगानीको वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
सुर्खेतको चौकुने स्थित सिमेन्ट उद्योग स्थापना गरी तत्काल सञ्चालन गर्ने सम्बन्धमा मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्रि रिजालले यस्तो बताएका हुन् ।
उद्योगपति अजय सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले एक दशक अगाडीदेखि इजाजत अनुमतिपत्र लिए पनि हालसम्म उद्योग स्थापना गरी सञ्चालनमा आउन नसकेपछि मन्त्री रिजाल, सम्बद्ध उद्योगपति र सारोकारवालाबीच मन्त्रालयमा छलफल भएको हो । छलफलमा सिमेन्ट उद्योग सञ्चालनको लागि लामो समयदेखि पहल गर्दै आएका सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानीले दशक अघि देखि लाइसेन्स लिएको उद्योग तत्काल सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज र सरकार दुवै पक्षले पहल गर्नुपर्ने बताए । साँसद थानीले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले उद्योग सञ्चालन गर्न नसक्ने हो भने अन्य विकल्प खोज्न समेत ढिलो गर्न नहुने सुझाव दिए ।
उद्योगपति सुमार्गीले भने आफुले वैदेशिक लगानी भित्राई उद्योग सञ्चालन गर्न खोजेकोमा पहिलेदेखि नै नेपाल सरकार र नेपाल राष्ट्र बैँकबाट आफूलाई असहयोग भैरहेको गुनासो गरे ।
छलफलमा मन्त्री रिजालले उद्योगपतिहरूलाई असयोग गर्ने सरकारको कुनै अभिप्राय नभएको बताए । उद्योगपतिहरूलाई लगानीको वातावरण बनाईदिनु पर्छ भन्ने सोचले सरकार अघि बढिरहेको मन्त्रि रिजालले स्पष्ट पारे । उनले देशको आर्थिक विकासमा उद्योगपतिहरूको ठूलो महत्व रहने बताउँदै औद्योगिक लगानी पर्वद्धनको लागि सरकारले हरदम पहल गरिहरेको जिकिर समेत गरे ।
मन्त्री रिजालले सिमेन्ट उद्योग सञ्चालन गर्नमा के के कुराहरू बाधक हुन बुझेर तत्काल कानुन बमोजिम सकारात्मक पहल गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए ।
छलफल कार्यक्रममा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानी, राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट लगायत मन्त्रालयका सचिव, सहसचिवहरू, उद्योग विभागका महानिर्देशक, खानी विभागका महानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ/सहकारी, देश
प्रतिक्रिया