काठमाण्डौमा एमसीसी परियोजना कार्यान्वयनको सेलिब्रेसन, प्रचण्डले के भने ?

काठमाण्डौ । नेपालमा एमसीसी परियोजना कार्यान्वयनको सेलिब्रेसन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस पिटर्सन अलब्राइटलगायतको सहभागितामा कार्यान्वयनको सेलिब्रेसन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् ।
उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । साथै विद्युत निर्यातमा समेत सघाउ पुग्ने उनको भनाइ छ । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।
एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको दाहालको भनाई छ । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनले बताए ।
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको बताइन् । उनले परियोजनाबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया