गठबन्धन सरकारले पाँचै वर्ष निरन्तरता पाउने प्रधानमन्त्री प्रचण्डको भनाइ

रुकुम । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले पाँचै वर्ष निरन्तरता पाउने बताएका छन् । आज दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्किन्छ कि भन्ने आशंका नपाल्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धन भत्काउन केही शक्तिहरु लागि परे पनि उनीहरुको योजना सफल हुन नदिने प्रचण्डको भनाइ थियो ।
सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु अत्लालिएको उनको जिकिर थियो । क्रान्तिकालमा अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गरेको स्मरण गर्दै प्रचण्डले यो आधार इलाकाबाट उर्जा लिएर फर्किने बताए ।
अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफूले सम्बोधन गरेपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको दाबी गरे । आफ्नो निम्तोलाई स्वीकार गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेश केही दिनमै नेपाल आउन लागेको जानकारी दिँदै उनले सरकारले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएको दाबी गरे । आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनाएको र यसबाट लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएको प्रचण्डको भनाइ थियो ।
आजै रुकुमको बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताए ।
प्रधानमन्त्रीले भने “गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ।”
यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौं । यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो । फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईहरूमाझ आएको छु ।” प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले भने “फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ । यो सहिदहरूप्रति उच्च सम्मान हो ।”
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया