मधेस सरकार तात्यो : प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रचण्डलाई अल्टिमेटम

काठमाण्डौ । मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
संघीयताको ८ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले पूर्ण संवैधानिक अधिकार प्रयोग गर्न नपाएकोले केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । उनले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजनका विषयमा आधारित भई ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिए ।
आफू मुख्यमन्त्री बनेको ८ महिनामै तीन मुख्य सचिवको सरुवा भएको यादवको गुनासो छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री यादवले ३० दिनभित्र आफ्ना मागहरु सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया