दुर्गा प्रसाईंविरुद्ध उत्रिएको युवा संघ अराजक बन्दै, महिलामाथि मनपरी

काठमाण्डौ । दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुव्र्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । उक्त घटनामा युवा संघका सचिवालय सदस्य विनोद राईको संलग्ना भएको पुष्टि भएको हो । राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो । विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन् । यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको बताइएको छ ।

महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ । राष्ट्रिय युवा संघले भने विज्ञप्ति जारी गर्दै युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको छ ।
युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेकै ठाउँबाट लघारेको भिडिओ सार्वजनिक भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो । अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
यसैबीच दुर्गा प्रसाईंले आफ्ना पीडा र वेदनाहरू सुनाउन काठमाडौँ आएका र आउँदै गरेका सर्वसाधारणलाई दुःख दिइएको बताएका छन् । नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेको प्रसाईको आरोप छ ।
प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको बताए । दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने आशंका व्यक्त गरिएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया