बालकृष्ण खाण ३० लाख धरौटी तिरेर जेलमुक्त हुने

ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण अन्तत जेलमुक्त हुने भएका छन् । नेता खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले विहिबार आदेश दिएसंगै उनी जुलमुक्त हुने पक्का भएको हो ।
बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन् । अब खाँणले थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने छन् । पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो । त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो ।
१५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो ।
यसअघि गत मंसिर १५ गते भएको सुनुवाइएमा सोही प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सुरक्षा सल्लाहाकार इन्द्रजित राई, आङ्टावा शेर्पा सहित ९ जनालाई थुनामै राख्ने जिल्ला अदालत काठमाडौले गत असार १ गते फैसलालाई नै सदर गरेको थियो ।
पुर्पक्षका लागि थुनामा रहेकाहरुले बाहिरै बसेर मुद्धा लड्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा दिएको निवेदनमाथि बहस गर्दै गत मंसिर १५ गते उच्च अदालत पाटनले मुद्दाका प्रतिवादी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रूपैयाँ, हरिभक्त महर्जनलाई १५ लाख रूपैयाँ, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रूपैयाँ, सन्दीप रायमाझीलाई ३० लाख रूपैयाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रूपैयाँ र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया