एमालेका सांसद कोइरीले पाए हत्या अभियोगमा सफाई

महोत्तरी । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको छ । अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको हो ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो । यही अभियोगमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ । प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री समेत बनेका थिए ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले शर्मासहित, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो । फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । १९ जना फरार छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया