काम गर्न नसक्ने मन्त्रीलाई प्रचण्डको चेतावनी, असफल भए आफूले पनि पद् छोड्ने
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/12/404321633_3675560426058219_3272629764834357186_n.jpg)
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एक वर्ष पार गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार असफल नभए पनि आफ्नो हुटहुटि अनुसारको परिणाम नआएको स्वीकारेका छन् । प्रचण्डले एक हप्ताभित्र प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने बताए । उनले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको बताए । साथै उनले पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरको कार्यक्रममा नजाने प्रण गर्दै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता जनाए ।
हाइ प्रोफाइलहरुलाई कानुनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको बताए । उनले देशमा पहुँच होइन विधिको शासन चल्छ भन्ने मान्यता स्थापित गरेको जिकिर गरे ।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दल, नागरिक समाज र राज्यका सबै निकायलार्ई आह्वान समेत गरे । अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न केन्द्रित हुने उनले बताए ।
भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठुला जलविद्युत् आयोजनाहरूमा लागेको उनको दाबी थियो । बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए । त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।
उनले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताएका छन् । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने चेतावनी दिए । उनले भने, ‘हामीलाई असफल हुन छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफी गर्ने अवस्था र मनस्थितिमा छैन । हामी आआफ्नो भूमिकामा न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यसम्पादन गर्न सकेनौं भने कसैले ठाउँ ओगटिराख्नु हुँदैन, छाडिदिनुपर्छ ।’
उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिराख्नु जरुरी नभएको बताए ।
साथै प्रचण्डले मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको, बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको, लोडसेडिङको युगदेखि विद्युत् निर्यात गर्ने युगमा देश प्रवेश गरेको दाबी गरे । स्वास्थ्य बीमाको दायरा विस्तार गरेको, सडक निर्माणका कामले गति लिएको र जनजस्वन सहज बनाएको दाबी गरे । प्रचण्डले जे जस्ता दाबी गरे पनि तथ्याकमा भने देशको अवस्था फरक छ । विश्लेषकहरुले उनको पहिलो वर्ष उपलब्धिविहीन भएको दाबी गर्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया