आज पृथ्वी जयन्ती : राष्ट्रपति रामचन्द्रले सम्झिए पृथ्वीनारायणलाई
काठमाण्डौ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।
आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।
राष्ट्रपति पौडेलद्धारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरे । राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया