वर्ल्ड भिजन र नयाँ आशा स्वास्थ्य सहकारी भए मर्जर,अध्यक्षमा बजगाईँ निर्वाचित
ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् ।ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुयाएको उनको भनाइ थियो ।
राष्ट्रिय गानबाट शुरू भएको सभाको औपचारिक कार्यक्रमको प्रारम्भमा कार्यक्रम सञ्चालक रमेशप्रसाद घिमिरेले सभा सञ्चालनको निम्ति आवश्यक गणपुरक सदस्यहरू उपस्थित भएको घोषणा गरेका थिए । संस्थाका निवर्तमान लेखा समितिका संयोजक माधवप्रसाद सञ्जेलले उपस्थित शेयर सदस्यहरूको स्वागत गर्दै सहकारीले सामना गरिरहेका चुनौतीबारे प्रकाश परेका थिए । दुई संस्था मर्जर भएपछि संस्थाको नाम वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । मर्जरपछि संस्थाको अध्यक्षमा चेतनाथ बजगाई सर्वसम्मत रूपमा चयन भएका छन् ।
शुक्रबार भएको एकीकृत साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । यस्तै, उपाध्यक्षमा मीनराज दुलाल, सचिव रमेशप्रसाद घिमिरे, सहसचिव पदमनाथ पराजुली, कोषाध्यक्ष सुरेन्द्र दाहाल, सदस्यहरू निर्मला बजगाई र राजु संजेल चयन भएका छन् । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजक टंक बास्तोला, सदस्यहरू पुरुषोत्तम सापकोटा, राजकुमार श्रेष्ठ रहेका छन् ।
सहकारी मर्जमा लगेर बचतकर्ताको रकम थप सुरक्षित, अब्बल बन्ने अध्यक्ष बजगाईँले बताए । ‘अहिले सहकारी समस्यामा छ भनेर राम्रा संस्थालाई पनि बदनाम बनाइएको छ, हामी बचतकर्ताको रकम सुरक्षित राख्छौं भनेर पुष्टि गरेका छौँ,’ बजगाईले भने । उपाध्यक्ष निर्वाचित दुलालले पनि सहकारी आर्थिक रूपमा झन् सबल बन्ने बताए । ‘अब सदस्य संख्या पनि थप भयो र बचत पनि बढ्यो,’ उनले भने ।
संस्थाले ललितपुरको भैँसीपाटीमा शाखा कार्यालय राख्ने निर्णयसमेत पारित गरेको अध्यक्ष बजगाईँले जानकारी दिए । वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीले जिल्लामा १२ वर्षदेखि सहकारी सम्बन्धी सेवा दिएर निरन्तर रूपमा सञ्चालनमा रहेको छ । संस्थामा हाल ९ सय ४२ शेयर सदस्य तथा कुल शेयर पूँजी १ करोड ७७ लाख ७९ हजार छ ।
यसैबीच शुक्रबार भएको साधारणसभामा वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको आर्थिक प्रतिवेदन पेश भइ पारित भएको छ । कोषाध्यक्ष सुरेन्द्र दाहालले पेश गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा १ करोड ५४ लाख १४ हजार ७२० रुपैयाँ ५१ पैसा आम्दानी र १ करोड ४१ लाख १७ हजार २४९ रुपैयाँ १० पैसा खर्च भई १२ लाख ९७ हजार ४७१ रुपैयाँ ४१ पैसा नाफा भएको छ ।
साधारणसभाबाट अध्यक्ष बजगाईको आर्थिक वर्ष २०७९–८० को प्रगति प्रतिवेदन र २०८०–८१ को कार्यक्रम पारित भएको छ । साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्य, जेष्ठ सदस्य, एसईई उत्तीण हुने शेयर सदस्यहरूका छोराछोरीलाई सम्मेत सम्मान गरिएको अध्यक्ष बजगाईले जानकारी दिए । सहकारी–सहकारीबीच किन मर्जर गर्नु पर्छ भनेर मर्जरको बारेमा सहकारीका अभियान्ता तेजप्रसाद बजगाईले प्रकाश परेका थिए ।
क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया