Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु, केके भयो पहिलो दिन ?


काठमाण्डौ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए ।

उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

यसैबीच प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेश गरेका हुन् । त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरे । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

 

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode