Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

कुन दलबाट को मन्त्री बने ? चिन्नुहोस् १९ जना मन्त्री


काठमाण्डौ । नयाँ सत्ता समिकरणसँगै प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रीमण्डल गठन भएको छ । १९ जना मन्त्रीले सपथ सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ५, रास्वपाबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।

नेकपा एमाले

नेकपा एमालेबाट ८ जना मन्त्री बनेका छन् । नेतृत्व सचिव रघुवीर महासेठले गरेका छन् । उनलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि केपी ओली नेतृत्वका सरकारमा पनि उनी यही मन्त्रालयमा थिए तर कमजोर कार्यसम्पादन भन्दै महासेठलाई २०७६ साल मंसिर ४ गते मन्त्रालयको जिम्मेवारीबाट हटाइएको थियो । त्यसको डेढ वर्षपछि फेरी उनै महासेठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो । गत वर्षको निर्वाचनमा धनुषा ४ बाट विजयी भएपछि उनी तेस्रोपटक सांसद बनेका थिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई यसअघि २०७९ माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको थियो । एमालेले उनलाई संसदको यही कार्यकालमा प्रमुख सचेतक पनि बनाएको थियो । मन्त्री पद दिएपछि प्रमुख सचेतकबाट भने हटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अघिल्लो वर्ष प्रचण्डको मन्त्रीमण्डलमा थिए । मन्त्री भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । उनी गत वर्षको निर्वाचनमा बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७० र २०७४ सालमा पनि सांसद बनेका भण्डारी गत वर्षको निर्वाचनमा बैतडीबाट विजयी भएका हुन् ।

रक्षा मन्त्रीको जिम्मेवारी पाएका हरि प्रसाद उप्रेती नायक निखिल उप्रेतीका दाई हुन् । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित उनी पनि अघिल्लो वर्ष पनि रक्षा मन्त्री नै बनेका थिए ।

सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसद बनेकी भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा सरकारमा सामेल भएकी छन् । अघिल्लो वर्ष उनी पनि मन्त्री बनेकी थिइन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् ।

प्रतिनिधिसभामा धनकुटाबाट निर्वाचित राजेन्द्र राई खानेपानी मन्त्री बनेका छन् । राई पनि अघिल्लो वर्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेकी ज्वालाकुमारी साह यसपटक पनि त्यही मन्त्रालयमा पुगेकी छन् । साह २०६७ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा साह साढे चार महिना भूमि सुधार र डेढ महिना पर्यटन राज्यमन्त्री बनेकी थिइन् । माओवादी पृष्ठभूमिकी साहले २०७७ मा नेकपा विभाजन हुँदा एमाले रोजेकी हुन् ।

२०३४ सालदेखि राजनीतिमा लागेका बलराम अधिकारी भूम व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । उनी २०७० मा कपिलवस्तु १ बाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि २०५६ र २०६४ मा पार्टीले टिकट दिए पनि उनी निर्वाचित भएका थिएनन् ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रबाट ५ मन्त्री बनेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिएका छन् । पाँचौँ पटक मन्त्री बनेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाएका हुन् । यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।

उपमहासचिव वर्षमान पुन फेरि एकपटक अर्थमन्त्री बनेका छन् । २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।

विदाई हुन नपाउँदै मन्त्री हुने सौभाग्य पाएका नेता हुन् शक्तिबहादुर बस्नेत । पुनः उर्जा मन्त्रालयमा दोहोरिएका उनी चौथो पटक मन्त्री बनेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए यसअघि कांग्रेससँगको गठबन्धनको सरकारमा पनि बस्नेत उर्जा मन्त्री नै थिए ।

यता नुवाकोटबाट प्रत्यक्ष निर्वाचित हितबहादुर तामाङ्ग माओवादीको कोटाबाट दोस्रोपटक मन्त्री बन्न सफल भएका हुन् । अहिले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका तामाङ्ग यसअघि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

यस्तै २०४२ सालमा राजनीतिक यात्रा शुरु गरेकी माओवादी नेतृ रेखा शर्मा पनि दोस्रो पटक मन्त्री बन्दैछिन् । उनले यसअघिको गठबन्धनमा प्राप्त गरेकी सूचना प्रविधि तथा सञ्चार मन्त्रालय नै सम्हाल्ने छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेसहित ४ जना मन्त्री बनेका छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार छिरेका छन् । यसअघि पनि गृह मन्त्रालयकै जिम्मेवारी पाएका उनी नागरिकता प्रकरणका कारण एक महिनामा नै पदच्यूत भएका थिए । सञ्चारकर्मबाट उदायका उनी राहादानी र सहकारी प्रकरणका कारण विवादमा छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी सुमना श्रेष्ठ पहिलो पटक मन्त्रीको कुर्सीमा आसिन भएकी छिन् । शिक्षामा आमुल परिवर्तनको जरुरी रहेको भन्दै संसद्मा आवाज उठाउने उनको काधमा शिक्षा मन्त्रालयको जिम्मेवारी आएको छ । जनजाति समूहबाट समानुपातिक सांसद् बनेकी उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) बाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् ।

खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका विराज भक्त श्रेष्ठ पनि पहिलो पटक मन्त्रीको हैसियतमा सिंहदरबार पसेका हुन् । काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा निर्वाचित उनी यसअघि विवेकशील साझा पार्टीमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र खरो बोल्ने नेताको छवि बनाएका उनले खेलकुद क्षेत्रको आमुल परिवर्तन गर्ने जिम्मा पाएका छन् ।

नेकपा एकीकृत समाजवादी
भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बनेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode