संसदीय समितिमा गृहमन्त्री रविमाथि प्रश्नै प्रश्न, सहकारी प्रकरणदेखि दुर्गा प्रसाइंको हतियारसम्म
काठमाण्डौ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने धारणा राखेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।
जवाफमा गृहमन्त्री लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । अनियमिततामा आफ्नो संलग्नता पुष्टि हुने कुनै प्रमाण नभएको लामिछानेको भनाइ छ । आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको उनले बताए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् । समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् । साथै उनले लामिछानेको समेत नाम जोडिएको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेको जानकारी दिए ।
एमालेका सांसद रघुजी पन्तले व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डसँग भेटिएको हतियारको विषयमा प्रश्न उठाएका छन् । बैठकमा सांसद पन्तले आत्म सुरक्षाको लागि दुर्गा प्रसाईँले अत्याधुनिक स्तरको हतियार राख्नु कति उचित ? भन्दै प्रश्न उठाएका हुन् । हतियारका लागि लाइसेन्स दिने नीति परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए ।
फरक प्रसंगमा सांसद बडूले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानविन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानविन गरिँदैछ भनि पत्र लेखेको हो स्पष्ट पार्न माग गरे । उनले सांसद चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया