देउवालाई भेटेपछि प्रचण्डले भने–उथलपुथल हुन सक्छ, ओलीको जवाफ–कसैसँग घाँटी जोडेको छैन
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहे जसरी काम गर्न नसके जुनसुकै बेला उथलपुथल गर्ने चेतावनी दिएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि काम अघि बढ्न सकेन भने अर्को उथलपुथल गर्न बेर नलाग्ने बताएका हुन् ।
“काम गर्न सकिने अवस्था हुन सकेन भने पद ओगटेर बसिरहनु हुँदैन ।” उनले भने । उनले आफूले पदको सुरक्षाका लागि अर्को समीकरण नबनाएको स्पष्ट गर्दै काम तीव्र गर्नका लागि नै यो गरेको बताए । सुशासन र विकास निर्माणका कामलाई गति दिन आफूले चाहेको उनको भनाइ छ । तर, अरूलाई अप्ठ्यारो पार्ने खालको उथलपुथल नचाहेको उनको भनाइ थियो ।
यसअघि कांग्रेससँगको गठबन्धन तोड्नुलाई उथलपुथलको रुपमा अथ्र्याएका उनै प्रचण्डले आज सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई सँगै राखेर पुनः उथलपुथल गर्न पछि नपर्ने बताएका हुन् ।
आजै विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका प्रचण्डले उथलपुथलको भाषा बोलेपछि त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देशमा नयाँ राजनीतिक समीकरण बनेपछि मौन रहँदै आएका शेरबहादुर देउवाले बिहीबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रचण्डले अर्को उथलपुथल गर्न सक्ने चेतावनी दिएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कसैसँग घाँटी नजोडेको अभिव्यक्ति दिएका छन् ।
झापाको ११ औं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अहिले नयाँ समीकरण निश्चित उद्देश्यको लागि मात्रै सहकार्य भएको भन्दै गठबन्धन नभएको जिकिर गरे ।
उनले भने, “यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला यो गठबन्धन होइन । कसैको कसैसँग घाँटी जोडिएको छैन ।”
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया