नेपाल ए टिम लगातार असफल, यसरी गुम्यो आयरल्याण्ड एसँगको सिरिज

काठमाण्डौ । दोस्रो एक दिवसीय क्रिकेटमा आयरल्यान्ड एले नेपाल एलाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता मात्रै होइन, सिरिज कब्जा नै गरेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । नेपालको बलिङ धारिलो हुँदा आयरल्याण्ड सस्तैमा अलआउट भएको थियो । नेपाल ‘ए’ का लागि रिजन ढकाल र शहाब आलमले समान ३–३ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा कमल सिंह ऐरीले १ विकेट लिए । १७५ रनको लक्ष्य सजिलै भेटाउला भन्ने अपेक्षा गरे पनि जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।
नेपालका लागि भिम शार्की र बिनोद भण्डारीले मात्र दोहोरो अंकमा रन बनाउन सके । भिमले २१ बल खेल्दै २ चौका र १ छक्का सहित १७ रन बनाएका थिए । बिनोदले १९ बलमा १६ रनको योगदान गरे । नेपालका ओपनर देव खनाल इनिङको तेस्रो बलमा नै शुन्यमा पेभेलियन फर्किएका थिए । नरेन भट्ट ६ रन बनाएर तेस्रो ओभरमा नै आउट भए । चौथो विकेटका रुपमा आउट हुने भिम सार्की आउट भए । अनुभवी ब्याटर आरिफ शेख लाइ हम्फ्रिजले नै शुन्यमा पेभेलियन फर्काए । यस्तै बसिर अहमद पनि ६ रनमा आउट भए ।
रिजन ढकाल पनि खाता खोल्नु अघि नै एलबिडब्लु आउट भए । आठौ विकेटका रुपमा कप्तान बिनोद माएस द्वारा स्लिपमा क्याच आउट भए । शाहब आलम १ रनमा पेभेलियन फर्किए । लगत्तैको बलमा मौसम ढकाल पनि बोल्ड भए । नेपाल पहिलो खेलमा पनि १ सय ५८ रनको लक्ष्य पछ्याउन असफल भएको थियो । टि–२० शृंखला २–१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २–० ले कब्जा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले फागुन २ गते नेपाल ‘ए’ टीम घोषणा गरेको थियो । राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवि ब्याटर विनोद भण्डारीको कप्तानीमा बनाइएको ए टिम एकपछि अर्को असफलता भोग्दै आएको छ । प्रशिक्षकको रुपमा लामो समय राष्ट्रिय टिममा रहेर महत्वपूर्ण योगदान दिएका ज्ञानेन्द्र मल्ल छन् । तर प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन ।।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया