ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता
ललितपुर । ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाउने जानकारी दिएको छ ।
प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण पुरानो रिसिइबी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।
पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार
प्रतिक्रिया