जेठ ७ गते प्रचण्डले विश्वासको मत लिने, माधव नेपाल भन्छन्–तमासा हेरिरहेको छु
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी एिका छन् । शनिबार माओवादी पार्टी कार्याले पेरिसडाडामा आयोजित पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले संसद्बाट विश्वास लिनका लागि संसद सचिवालयमा पत्र पठाएको जानकारी दिएका हुन् । दाहालले चौँथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
आफूले चौँथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै अब जति पटक लिनुपरे पनि विश्वासको मत लिन तयार नै हुनुपर्ने अवस्था रहेको बताए । उनले विश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता नलिन समेत आग्रह गरे ।
उनले भने, ‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौँथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ । तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ ।
उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको र बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताए । उनले अहिलको अवस्थामा प्रधानमन्त्री प्रचण्ड निकै व्यस्त रहेको र आफुहरु तामासा मात्रै हेरेर बसेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्त बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिकको कुरामा उहाँ भन्दा बढी बिजी कोही छँदै छैन होला। हामीहरु त खाली तमासा हेरेर बस्ने मान्छे मात्रै पर्यौं, त्यसैले हामी सबै घटनालाई नियालिरहेका छौं।
उनले आफूहरुले नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो भन्ने कुरा हेरिरहेको बताए।
उनले थपे, ‘राम्रो दिशामा यो देशको राजनीति अगाडि बढोस्, हामी चाहन्छौं देशमा स्थायित्व होस्, वामपन्थी कम्युनिष्टहरुबीचको सहकार्य नयाँ उचाइमा पुगोस्।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको बिमोचन गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया