हिमालमा भेटियो ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर

काठमाण्डौै । सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ । आज नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको जानकारी गराए ।
उनले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने बताए । उनले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताए ।
प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । उनले प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताए । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उनले बताए । उनले सफाई अभियान सञ्चलन गर्नु जटिल, चुनौतिपूर्ण र शाहसिक कार्य भएको जिकिर गरे । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको शुरुवात गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया