ललितपुरका मेयरलाई अख्तियारले बोलायो, महानगरले आयुक्तको घरमा डोजर चलायो
ललितपुर । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
ललितपुर महानगरपालिका १० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको महानगरका प्रवक्ता राजु महर्जन बताए । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन लामो समय देखि माग गर्दै आएका थिए ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई आयोगको कार्यालयमा उपस्थित हुन भनेको छ । बुधबार एक पत्र पठाउँदै आयोगले महर्जनलाई बोलाएको हो । अख्तियारले महर्जनलाई २०७७ मा आएको बाढी / पहिरोमा नगर कार्यपालिकाको निर्णयविपरीत रकम बाँढेको विषयमा अनुसन्धानका लागि बोलाएको हो । उनलाई २६ असार १० बजे आयोगको कार्यलयमा उपस्थित हुन भनिएको छ ।
‘२०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी /पीडितलाई रु एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णयविपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेकोु भन्ने व्यहोराको उजुरी परेको भन्दै आयोगले महर्जनलाई बोलाएको हो ।
अख्तियारले पत्र पठाउने र महानगरले डोजर चलाउने घटना बुधबार संयोगले एकै दिन भएको छ । पहिले अख्तियारले पत्र पठाएको हो या पहिले महानगरले डोजर चलाएको हो उक्त कुरा भने खुलिसकेको छैन ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया