Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रधानन्यायाधीश बन्न लागेका रथी सिग्देलको उमेरमा कुनै विवाद नभएको सेनाको प्रष्टोक्ति


काठमाण्डौ । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेरसम्बन्धी कुनै विवाद नरहेको प्रष्टाएको छ । बिहीबार जंगी अड्डामा पत्रकार सम्मेलन गरी सूचना अधिकारीसमेत रहेका सहायक रथी गौरबकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्टीकरण दिएका हुन् । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति हुनेछन् । सिग्देल उपरथीबाट रथीमा बढुवा हुने बेलादेखि नै उनको उमेरलाई लिएर विवाद भएको थियो । यही विषय बिहीबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उठेको थियो । सो प्रश्न उठेपछि सूचना अधिकारी एवं सहायक रथी केसीले सेनासँग प्राप्त कागजातहरू समेत उल्लेख गरी प्रष्टीकरण दिएका हुन् । २०८० मंसिरमा सिग्देलको नागरिकतासम्बन्धी विवाद आएपछि रूजु गरेरै पदोन्नति गरेको सेनाको भनाइ छ ।

रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे ।

रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ ।

यस्तै, विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय)बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ । रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गर्नुभएको सहायक रथी केसीले जानकारी दिए ।

नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानूनी व्यवस्था रहेको उनले जानकारी गराए ।

महिला सेनाको कीर्तिमान


संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सबैभन्दा धेरै महिला सैनिक पठाउनेमा नेपाल पहिलो भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार पत्रकार सम्मेलन गरी शान्ति सेनामा सबैभन्दा धेरै महिला सैनिक पठाउनेमा नेपाल पहिलो भएको जनाएको हो । सेनाले मिसनमा अहिलेसम्म २ हजार ७ सय ७ जना महिला सैनिकहरू पठाइसकेको छ । अहिले सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतसहित कुल ६७४ जना महिला सैनिक शान्ति सेनाको मिसनमा सहभागी छन् । यो संख्या अनुसार महिला सैनिकहरूको योगदानमा संख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा रहेको जंगी अड्डाले जनाएको छ । रूवान्डाका ६०५ जना, बंगलादेशका ४७१ जना, घानाका ४६६ जना, तान्जानियका १८२ जना, इन्डोनेसियाका १८० जना खटिएका छन् । त्यस्तै, महिलामा मात्रै भएर नेपाल संख्यात्मक हिसाबले सबैभन्दा धेरै सैनिक पठाउनेमा पनि पहिलो स्थानमा छ । अहिले विश्वमा ११ वटा विभिन्न शान्ति मिसनहरूमा नेपाली सेनाका ५ हजार ९१६ जना शान्ति सैनिकहरू तैनाथ छन् । यो संख्या शान्ति सेनामा तैनाथ गर्नेहरूमध्ये नेपाल पहिलोमा पर्ने सेनाले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode