Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

बानियाँको सपनामा डिनाको इन्ट्रीपछि लामालाई नसोचेको मुख्यमन्त्री पद


ललितपुर । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको मुख्यमन्त्रीका उम्मेदवार थिए– इन्द्र बानियाँ । सभापति शेरबहादुर देउवाका निकटस्थ मानिएका बानियाँ २०७४ को चुनावअघि संघीय सरकारका गृह राज्यमन्त्री भएका थिए । देउवाका दाहिना बानियाँ मकवानपुरमा प्रभावशाली नेता त थिए नै, साथै पकड बनाएका ठेकेदार पनि ।

त्यसैले, मकवानपुरका बानियाँलाई मुख्यमन्त्री बनाउने गरी नै कांग्रेसले प्रदेशसभाको उम्मेदवार बनाएको थियो । अनि संसदीय दलको नेता पनि सर्वसम्मत रूपमा निर्वाचित भए । तर, चुनावमा एमाले एक्लैले बहुमत ल्याएको थियो । त्यसमा वाम गठबन्धन पनि जोडिएपछि बानियाँ मुख्यमन्त्रीको दौडमा धेरै पछि परे ।

हुन त नेकपा विभाजनपछि बानियाँका लागि अवसर आएको थियो । नेकपा विभाजनपछि मुख्यमन्त्रीका दाबेदार तिनै बानियाँको हातबाट बरु एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भए । पाण्डेपछि मुख्यमन्त्री बानियाँ हुने गरी नै सहमति भएको थियो । तर, २०७९ को चुनावी गठबन्धनसमेत कारणले पाण्डेले मुख्यमन्त्रीमा निरन्तरता पाए, जसले गर्दा ती ५ वर्ष बानियाँका लागि अरुलाई मुख्यमन्त्री बनाउएरै समय सकियो ।

त्यसबीचमा बानियाँले पाण्डेको विकल्पमा सरकार बनाउने कसरत गरेका पनि हुन् तर पार्टी केन्द्रको दबाबले उनी पछि हट्न बाध्य भए । त्यसको क्षतिपूर्तिसहित २०७९ मा मुख्यमन्त्री दाउमा बानियाँ पुनः प्रदेशसभामा गए । उनी भारी मतले निर्वाचित पनि भए । तर, संसदीय दलको नेता चयन गर्ने बेला कांग्रेसभित्रको आन्तरिक राजनीतिक सिकार भए बानियाँ ।मकवानपुरको कांग्रेसको राजनीतिमा बानियाँ र सहमहामन्त्री डिना उपाध्यायका दुई समूह सक्रिय छन् ।

बलियो समूहमा यी दुई समूह मानिन्छन् । एकले अर्कोलाई चुनावदेखि हरेक मोर्चामा पराजित गर्ने रणनीति अख्तियार गर्छन् । त्यसको प्रत्यक्ष असर सहमहामन्त्री उपाध्यायको सन्दर्भमा पर्‍यो । हुनलाई बानियाँ र उपाध्याय सभापति देउवा समूहकै नेता हुन् । तर, एकले अर्कोलाई स्थापित हुनबाट रोक्ने प्रयास भने गरिरहेका हुन्छन् ।

त्यही क्रममा २०७९ मंसिरको चुनावमा बानियाँले उपाध्यायलाई पराजित गर्ने रणनीति लिएको आरोप लाग्यो । कांग्रेसबाट उम्मेदवार महिलामध्ये उपाध्यायलाई जित निकाल्न सक्ने नेताको रूपमा हेरिएको थियो । तर, उनी राप्रपाका दीपक सिंहसँग पराजित भइन् ।

उपाध्याय पराजित हुने मुख्य कारण मानिए बानियाँ । बानियाँको समूहले असहयोग गरेका कारण उपाध्याय पराजित भएको भन्दै उपाध्याय समूहले पार्टीभित्र सूचना मात्र दिएन, कारबाहीका लागि प्रस्ताव पनि राख्यो । उपाध्यायको जोडबल बानियाँलाई कारबाही गराउन लागेकै कारण मुख्यमन्त्रीका दाबेदार बानियाँलाई संसदीय दलको नेता नै हुन नदिने खेल सुरु भयो । मुख्यमन्त्रीका लागि भन्दा पनि प्रतिनिधिसभामा टिकट दिन नसकेपछि प्रदेशमा झारिएका बहादुरसिंह लामालाई उपाध्यायको समूहले साथ लियो ।

लामालाई संसदीय दलको नेतामा उठाउने र बानियाँलाई पराजित गर्ने रणनीति बन्यो । उक्त रणनीतिमा उपाध्यायलाई साथ दिन पुगे प्रकाशशरण महत । आरजु राणासमेतको साथ पाएपछि यो समूहले बानियाँलाई पराजित गर्‍यो । अनि, २०८४ अघि मुख्यमन्त्रीको दौडबाट बानियाँलाई पार लगाइदिए ।

अर्थात्, नसोचेका लामाले मुख्यमन्त्री बन्ने अवसर पाए । बानियाँको मन्त्रिपरिषद्मा मन्त्री हुने रहर गरेका लामा उल्टै बानियाँलाई पन्छाएर मुख्यमन्त्री बन्ने भएका छन् । नेकपाकालमा मुख्यमन्त्रीका लागि चुनावी मैदानमा गएकी अष्टलक्ष्मी शाक्य र उनकै मन्त्रिपरिषद्मा भौतिकमन्त्री आस गरेका डोरमणि पौडेल तिनै शाक्यलाई हराएर मुख्यमन्त्री भए । अहिले ठीक त्यस्तै परिघटना कांग्रेसमा दोहोरिएको छ ।

संसदीय दलको नेतामा पराजित भएपछि बानियाँले गुट फेर्ने प्रयास पनि गरेका थिए । महामन्त्री गगन थापा र नेता शेखर कोइरालाई अतिथि बनाएर केही कार्यक्रम गरेका पनि थिए । यद्यपि, अहिले बानियाँ देउवा समूहमै सक्रिय छन् । त्यसैले, देउवा भने बानियाँकै पक्षमा रहेको पनि बताइन्थ्यो । यसबीचमा कांग्रेस र एमालेको ती प्रदेशमा देखिएको आन्तरिक किचलोकै कारण बागमती प्रदेश एमालेलाई दिने र लुम्बिनी कांग्रेसलाई दिने गरी पुनः भाग लगाउने प्रयास भएको पनि चर्चा भएको थियो ।

 


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode