माओवादीको निर्णय : पहिला पुर्नजागरण अभियान अनि निर्वाचनमा एक्लै लड्ने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै जानेगरी पार्टी संगठन निर्माण गर्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
उनले भने, ‘हाम्रो सरकारले गरेको कामलाई उठाउने र भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने, जसले गर्दा हाम्रा मुद्दाहरु राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् ।’ उनले चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको स्वीकारे ।
माओवादी केन्द्रले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सापकोटाले सरकारबाट बाहिरिएसंगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए । उनले गठबन्धन मार्फत निर्वाचनमा जादा पार्टीको एजेण्डा जनतामा पुराउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
त्यस्तै पदाधिकारी बैठकले सवै कम्युनिष्टहरुसंग ध्रुविकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया