प्रचण्ड हटाउन जनार्दन र वर्षमान एकमत !
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/08/inbound4567462762179820057-scaled.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वबारे उपमहासचिव जनार्दन शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् ।
पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो लिखित प्रस्तावमा शर्माले तीनवटा विकल्प अघि सारेका हुन् ।
अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका प्रचण्डले नै चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने उपाय सुझाएका छन् ।
यस्तै उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् ।
हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने शर्माको अर्को प्रस्ताव छ ।
अर्का उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राखेका छन् । पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने बताएका थिए ।
पुनले भनेका छन्- नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ । अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अपिच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया