ए डिभिजन लिग भोलिदेखि, टिमका प्रशिक्षक र कप्तानले के भने ?
काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शुक्रबारबाट सुरु हुँदैछ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् । प्रतियोगितामा सहभागी सबै टोलीले लिगको लागि सम्पूर्ण तयारी गरिसकेको जनाएका छन् । लिग अघि बिहीबार ललितपुरमा भएको पत्रकार सम्मेलनमा क्लबका प्रशिक्षक र कप्तानले लिग खेल्न उत्साहित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस सिजन तालिकाको शीर्ष ६ पुग्ने टोलीको लक्ष्य रहेको बताए । फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले लिगका लागि आफ्नो लक्ष्य निर्धारण गर्ने बताए । एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले आफ्नो टोलीले लिग जित्ने महत्वाकांक्षी योजना बताएको बताए ।
एपीएफका कप्तान टोप विष्टले पनि टोली शीर्ष स्थानमा उक्लने लक्ष्य रहेको बताए । त्रिभुवन आर्मीका सहायक प्रशिक्षक राजु तामाङले टोलीले आफ्नो विगतलाई पछाडी पार्दै यस पटक उपाधि जित्ने विश्वास व्यक्त गरे । कप्तान भरत खवासले पनि प्रमुख खेलाडी फर्किएमा टोलीको प्रदर्शनमा टेवा पुग्ने बताए ।
थ्री स्टार क्लबका सहायक प्रशिक्षक विनोद माझीले यो सिजन आफ्नो गौरवका दिनमा फर्कन चाहेको बताए । चर्च ब्वाईजका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले राम्रो टोली बनाएको र लिग अगाडि बढ्दै जाँदा राम्रो हुने बताए ।
संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले नकआउट प्रतियोगितामा भाग लिने टोलीले कमजोरी मूल्याङ्कन गरी काम गरेको बताए । पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेले उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । त्यस्तै अन्य टिमले पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया