विश्वकप लिग–२ : सिनियर टिमले गुमायो लय, सामान्य लक्ष्य पनि भेट्न सकेन
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै सन्दीप लामिछानेले २५ रन बनाउँदा आसिफ शेखले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो ।
यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए । यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए । यो जितसँगै यूएईले ३० खेलमा ३१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । परातिज नेपाल २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया