मारवाडी सेवा समितिसँग घम्साघम्सीपछि काठमाण्डौ महानगरले राख्यो पशुपति धर्मशालामा बोर्ड

काठमाडौं । माडवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा आफ्नो बोर्ड राखेको छ । पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालिक गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो ।
गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको माडवाडी सेवा समितिका सदस्यहरुलाई बलपूर्वक हटाएको थियो । सो क्रममा केहिबेर माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो ।
समितिले भने अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायीक अधिकार सुरक्षित हुनुपर्ने भन्दै प्रदर्शन गरेको थियो । नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पशुपति क्षेत्र बिकास कोषसंग धर्मशाला सञ्चालन गर्ने सम्झौता भएकाले आफुहरु महानगरको बोर्ड राखेको बताए ।
पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए । यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो ।
तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको थियो । प्रहरीको टोली पनि पुगेको थियो । गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग माडवाडी सेवा समितिले धर्मशाला खाली गराउनुपर्ने आधिकारिक पत्र मागेका थिए । तर, नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र देखाउन नसकेपछि नेपाल प्रहरीले महानगरको टोलीलाई फिर्ता पठाएको छ ।
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो । त्यसलगतै कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया