नेपाल प्रिमियर लिगको १५ खेल : यस्तो छ नालिबेली (तथ्याङ्कसहित)
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/12/npl-Detail.png)
काठमाण्डौ । मंसिर १५ गतेदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । सोमबार कुनै पनि खेल नराखी खेलाडिलाई आराम दिइयो । हिजोसम्म पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजले ३–३ खेल खेलेका छन् भने बाँकी ६ टिमले ४–४ खेल सकाएका छन् । प्रतियोगितामा हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स अपराजित छ भने लुम्बिनी लायन्स जितविहीन छ ।
जनकपुर ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा छ भने अंकविहीन लुम्बिनी पुछारमा छ । त्यस्तै चार खेलमा ३ जितसहित ६ अंक भएका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ४ खेलमा दुई जितसहित ४ अंक भएको कर्णाली चौथोमा छ । तीन खेलमा एक जितसहित २ अंक भएको पोखरा पाँचौंमा, काठमाण्डु छैटौंमा र चार खेलमा एक जित भएको विराटनगर किंग्स सातौं स्थानमा छ । अहिलेसम्मको अवस्था हेर्दा जनकपुर बोल्ट्सको प्लेअफ यात्रा लगभग निश्चित हुँदा बाँकी ३ टोली को हुन्छन् भन्ने रोमाञ्चकता थपिएको छ । चारवटै खेल हारेको लुम्बिनी भने उपाधि होबाट धेरै टाढा पुगिसकेको छ ।
नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनीले खेलेको चारवटै खेल हारेको छ । एउटा पनि खेल जित्न नसक्ने लुम्बिनी मात्रै हो ।
अर्कोतर्फ जनकपुर बोल्ट्सले भने हारको सामना गर्नुपरेको छैन । प्रतियोगितामा हालसम्म अपराजित रहने एक्लो टिम जनकपुर हो । जनकपुरले हालसम्म शानदार अलराउण्ड प्रदर्शन गर्दै चारवटै खेल जितेको छ ।
अहिलेसम्म एउटा शतक प्रहार भएको छ । गत २१ गते पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीचको खेलमा पोखराका ओपनर आन्द्रेस गौसले ५५ बलमा १ सय ४ रनको अविजित पारी खेले । यो नै एनपीएलमा अहिलेसम्मको पहिलो र अन्तिम शतक हो ।
अर्धशतक प्रहार गर्ने खेलाडीहरु :
मार्टिन गप्टिल (विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्स)
लहिरु मिलान्था (जनकपुर बोल्ट्सविरुद्ध विराटनगर)
अनिल साह (जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स)
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्स)
रवि बोपारा (चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स)
शिखर धवन (कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज)
ब्रान्डन म्याकमुलम (सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गुर्खाज)
रवि बोपारा (चितवन राइनोजविरुद्ध कर्णाली याक्स)
रोहितकुमार पौडेल (लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स)
दिनेश खरेल (पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स)
सैब जैब (सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्स)
विवेक यादव (लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स)
विलियम बोसिस्टो (कर्णाली याक्सविरुद्ध विराटनगर किंग्स)
देव खनाल (कर्णाली याक्सविरुद्ध विराटनगर किंग्स)
हसन एसाखिल (चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स)
एनपीएलमा पहिलो पटक ५ विकेट लिएर पाकिस्तानका अनुभवी बलर सोयल तनविरले इतिहास रचेका छन् । काठमाण्डौविरुद्ध ५ विकेट लिएका सोयलले चार खेलमा ९ विकेट लिएर शीर्षस्थानमा रहेका छन् । धेरै विकेट लिनेको सूचिमा नेपालका सफल स्पिनर ललित राजवंशी छन् । उनले हालसम्म ८ विकेट लिइसकेका छन् ।
सुदूरपश्चिम रोयल्सका नरेन साउद नेपाल प्रिमियर लिगमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १८ वर्षीय नरेनले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका हुन् ।
जनकपुर बोल्ट्सबाट खेलिरहेका क्यानडाका हर्श थाकरले पनि लुम्बिनीविरुद्ध ५ विकेट लिएका थिए । ठाकरले कुल ८ विकेट लिएर धेरै विकेट लिनेको सूर्चिको शीर्ष तीनभित्र अटाएका छन् ।
सर्वाधिक रनको आँकडा रोचक छ । किनकी चारवटै खेल हारेको लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक रन जोडेका छन् । उनले एक अर्धशतक सहित १८१ रन बनाएका छन् । जनकपुर बोल्ट्सका लाहिरु मिलान्था ४ खेलमा एक अर्धशतक सहित १६८ रन बनाएका छन् । चितवन राइनोजका रवी बोपरा १५७ रन बनाएर तेस्रो स्थानमा छन् ।
मंगलबार पहिलो खेलमा लुम्बिनी र चितवन खेल्दै छन् भने दोस्रो खेलमा कर्णाली र पोखरा खेल्दै छन् । मंगलबारका दुवै खेलको नतिजापछि अंकतालिकामा थप रोमाञ्चकता बढ्ने देखिन्छ । लुम्बिनी पराजित भएमा बाहिरिने छ भने जित निकालेमा झिनो आशा बाँकी नै रहँदा चितवनलाई भने धक्का लाग्न सक्छ । उता कर्णाली र पोखराबीचको नतिजापछि तालिकाको मध्यभागमा सामान्य परिवर्तन आउने छ ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया