जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका सवै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिएका हुन् । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए । नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि आग्रह गरे । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरु हिमाली क्षेत्रमा धेरै देखिएको भन्दै यसमा सजक हुन नसके आगामी पुस्तालाई निकै असर पर्ने बताइन् । जलवायु परिवर्तनका असरको बारे विश्वसमूदायलाई राम्रोसंग जानकारी गराएपनि नेपालमा पनि यसबारे जनचेतना आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय कायम गर्न आन्तरिक क्षमता बृद्धिका साथै अध्ययन अनुसन्धानलाई पनि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने धारणा राखे । जलवायु सम्मेलनको निष्कर्षलाई जलवायु हितका रुपमा प्रयोग गरिने र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया