विपक्षी दलको दबाबपछि संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकार बाध्य
काठमाडौं । मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस भएको हो ।
विपक्षी दलले लगातार विरोध गर्नुको साथै विशेष अधिवेशन माग गर्न थालेपछि सरकारले अधिवेशन आह्वान गरेको हो । विपक्षी दलले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरेरै विरोध गरेका थिए । हिउँदे अधिवेशन सुरु नहुँदा धेरै विधेयक र प्री–बजेटमाथि छलफल गर्न नपाइएको उनीहरुको आरोप थियो । संसद् सक्रिय नरहेको समयमा सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ । यी अध्यादेश राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसकेको छ । विपक्षी दलहरुले यी अध्यादेश फिर्ता गर्न दवाव दिए पनि सरकारले पहिलो बैठकमा नै अध्यादेश सदनमा पेस गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया