Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नेपाल बाल संगठनको जग्गामा विशाल ग्रुपको रजाँई


काठमाडौं । चाहे उच्च व्यवसायीक घरानाले चलाएको यति समूह होस वा छोटो समयमै उच्च प्रगति गरेको बतास समूह । अनि नेताहरुको स्वार्थ जोडिएको ओम्नी, मारवाडी सेवा समिति । यी र यस्ता अनेकौँ व्यवसायीक घरानाहरुले सरकारी जग्गा कौडीको भाउमा लिएर करोडौँ मुनाफा गरिरहेका छन् । तर, सरकारी संयन्त्रलाई गुमराहमा राखेर होस् या केही सिमित ब्यक्तीहरुलाई पोसेर किन नहोस् बर्षौसम्म राज गर्ने गरी सम्झौता गरिएका धेरै उदाहरण एकपछि अर्को गर्दै बाहिरिदैछन् । यस्तै, मध्येको एउटा घटना हो । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा लिज प्रकरणमा बिवादित ब्यासायिक घराना बिसाल ग्रुपले बर्षौदेखी गर्दै आएको चलखेल ।

काठमाडौको नक्सालस्थित बृहस्पती विद्यासदन स्कुलले नेपाल बाल संगठनको करिव २९ रोपनी जग्गा कानुन विपरित करिब ६० बर्षका लागि कौडिको भाउमा भाडामा लिएको छ । जसमा मासिक भाडा प्रतिबर्ग फिट ६ रुपैया मात्र तोकिएको छ । अझै हरेक ५ बर्षमा जम्मा ५ प्रतिशत भाडा बृद्धि गर्ने, लिजमा लिइएको जग्गा बृहस्पतीले अन्य सस्थालाई भाडामा दिन सक्ने लगायतका अन्य सम्झौताका बुदाँहरु बृहस्पती बिद्यासदनको कमाउ धन्दाका लागि सजिलो बनाउने खालका छन् । कानुनलाई लत्याउँदै बृहस्पती विद्यासदनले सरकारी जग्गामाथी लुट मच्चाउने गरि सम्झौता गरिएको छ । महंगो स्कुलका रुपमा गनिने बृहस्पती विद्यासदनले नेपाल बाल संगठनको जग्गा कौडिको भाउमा भाडामा लिएर वर्षौदेखि प्रयोग गर्दै आएको छ ।

बाल संगठनको अध्यक्षमा इमान्दार छवीका नेता मानिने गणेशमान सिंहकी छोरी रीता सिंह आएलगत्तै संगठनले विधान संशोधन गरेर पहिलो पटक २०४९ माघ २६ गते ९ रोपनी जग्गा र त्यसमा रहेका घरटहरा बृहस्पति विद्या सदनलाई भाडामा दिएको थियो । त्यसपछि सिंहकै जोडबलमा २०५८ जेठ ८ गते थप ५ रोपनी २ आनासहित कूल १४ रोपनी ९ आना १ पैसा जग्गा र घरहरू बृहस्पतिलाई भाडामा दिइयो । त्यसको एक वर्षपछि, २०५९ भदौ ११ गते थप १३ रोपनी १२ आना १ पैसा जग्गा पनि बृहस्पतिलाई नै जिम्मा लगाइयो । यी सबै निर्णय हुँदा सिंह नै बाल संगठनको नेतृत्वमा थिइन । पछि सिंहकै नेतृत्वमा पहिलेको सम्झौताको समयअवधी पुरा नहुदै करार ऐनलाई समेत लत्याएर ४३ वर्षका लागि भाडामा दिने निर्णय गरियो । २०५९ भदौ ११ मा भएको सम्झौता अनुसार कुल २८ रोपनी ५ आना जग्गा बृहस्पतिलाई सुम्पिएपछि बाल संगठनभित्रै विरोध उब्जियो ।

उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल संगठन र बृहस्पतिबीच भएको पछिल्लो बहाल सम्झौता रद्ध गर्न निर्देशन नै दियो । बाल संगठनले बृहस्पतिसँग भएको १३ रोपनी १२ आना १ पैसा जग्गा बहालमा दिने पछिल्लो सम्झौता रद्द गर्ने निर्णय ग¥यो । तर, संगठनको यो निर्णयविरुद्ध बृहस्पति रिट लिएर सर्वोच्च अदालत पुग्यो । सर्वोच्चमा यो मुद्दा विचाराधीन रहेकै बेला बाल संगठन र बृहस्पतिले मिलापत्र गरेर पूरक सम्झौता मार्फत त्यो जग्गा पुनः बृहस्पतिको जिम्मा लगाएको देखिन्छ । विभिन्न ब्यक्तीलाई प्रभाव पार्दै नक्साल जस्तो स्थानमा २९ रोपनी जग्गाको भाडा जम्मा वार्षिक ९० लाख मात्रै तोकिएको छ । यहाँ चलनचल्तीको दरभाउ अनुसार सम्झौता गरेको भए मासिक नै करोडभन्दा बढी रकम संगठनलाई प्राप्त हुने देखिन्छ ।

आर्थिक संकटले गुज्रिरहेको बाल संगठनको जग्गामा भौतिक संरचना बनाएर विद्यालय चलाएको बृहस्पतिले करोडौ कमाइरहेको छ । बृहस्पति देशकै ठूलोमध्येको व्यापारिक घराना विशाल ग्रुपले अधिकांश स्वामित्व ओगटेको स्कुल हो । पुरुषोत्तमराज जोशीले स्थापना गरेको बृहस्पति विद्या सदनमा अहिले उनको २५ लाख ८० हजार, छोराहरू प्रवीणराज जोशीको १ करोड ८७ लाख १० हजार र प्रज्वलराज जोशीको १ करोड ३१ लाख १० हजार रुपैयाँ मूल्यको सेयर छ । बृहस्पतिको अधिकांश सेयर विशाल ग्रुपकै सदस्यहरुको हातमा छ । विशाल अग्रवालको २ करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको २ करोड ३६ लाख ७५ हजार, अर्पित अग्रवालको १ करोड १२ लाख १० हजार र अनुज अग्रवालको ३ करोड ६१ लाख २३ हजार ५०० रुपैयाँको सेयर रहेको छ । यी तीन जना बिवादित व्यवसायिक घरानीया विशाल ग्रुपका निर्देशकहरु हुन ।

विशाल गु्रपकै सदस्यहरुको बाहुल्य रहेको ग्रिन फिल्ड इंक प्रालिको नाममा ५० लाख १० हजार रुपैयाँको सेयर देखिन्छ । त्रिवेणी ग्रुपका अध्यक्ष अर्थात पुरुषोत्तमलाल संघाईले छोरी श्रद्धा संघईको नाममा २ करोड ५७ लाख ९२ हजार ५०० लगानी गरेका छन् । त्रिवेणी ग्रुप र विशाल ग्रुपले घोराही सिमेन्टलगायत थुप्रै व्यवसायमा साझेदारी गरेका छन् । अग्रवाल र संघई परिवारबीच पारिवारिक नातासम्बन्धसमेत रहेको छ । यस्तै, श्यामसुन्दर कँडेलको ६४ लाख ६५ हजार, समीर थापाको १० हजार, महेशकुमार सिंघानियाको ४२ लाख ३० हजार ६००, सञ्जय अग्रवालको ७ लाख ४ हजार २०० र सञ्जयकुमार मोरको ७ लाख ४ हजार २०० रुपैयाँ सेयर लगानी बृहस्पतिमा छ । कँडेल, थापा, सिंघानिया, सञ्जय अग्रवाल र मोर कसरी साझेदार बने भन्ने खुलेको छैन । व्यवसायीक घरानीयाको स्वार्थ पुरा गराउनेगरि बाल संगठनको जग्गा भाडामा दिन विगतको कार्यसमिति, कतिपय उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वले समेत भुमिका खेलेर संगठित रुपमै अपराध गरेको देखिन्छ ।

बाल संगठनमा व्यापारीलाई ६० वर्षसम्मका लागि जग्गा भाडामा दिनेदेखि चल अचल सम्पत्तिको दुरुपयोग, आर्थिक अनियमितता, विधान विपरीतलगायतका कामकारबाही तीव्र बनेपछि त्यसबारे छानबिन गर्न सरकारले २०७६ कात्तिक १७ गते बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगको प्रतिबेदन अहिलेसम्म गुपचुप राखिएको छ । सो प्रतिबेदनले समेत तत्कालिन अध्यक्ष रिता सिंहले बद्मासी गरेको निष्कर्ष निकालेको थियो । अझै प्रतिबेदन लुकाएर विशाल ग्रुपको लगानी रहेको बृहस्पति बिद्यासदनलाई लुट्ने छुट सरकारले नै दिइरहेको छ । बृहस्पति बिद्यासदनले बाल संगठनको जग्गा नै सवलिजमा दिन सक्ने, लियन’ राखेर बैंकसँग ऋण कारोबार गर्न सक्नेगरी सम्झौतामा गरिएको व्यवस्थाले नै बदनियत प्रष्ट देखिन्छ ।

यतिबेला बिसाल ग्रुपकै लगानी रहेको राई स्कुललाई ५० वर्षे सव लिजमा बृहस्पतीले ५ रोपनी जग्गा भाडामा दिएको छ । अझ, तत्कालिन बैंक अफ काठमाडौंमा नेपाल बाल संगठनको नाममा रहेको सरकारी जग्गा धितो राखेर ३३ करोड ऋण लिएर समेत बृहस्पतीले अर्को बद्मासी गरेको छ । नयाँ अध्यक्ष आएसँगै यी सब कर्तुतको खोजीसँगै कानुनी लडाईमा यतिबेला बाल संगठन अघि बढिरहेको छ । अर्कोतर्फ बृहस्पतिले मागेको भन्दा पनि धेरै जग्गा दिने बाल संगठनकी तत्कालिन अध्यक्ष रिता सिंह सहितको पुर्व कार्यसमितिको नियत नै खराव देखिएको छ । बिना प्रतिस्पर्धा लामो समयका लागि सस्तो दररेटमा जग्गा भाडामा दिने कार्यसमितिले आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ । एउटा प्रतिष्ठित स्कुलले खुलमखुल्ला रुपमा सरकारी जग्गा अतिक्रमण गर्ने, कानुनसँग बाझिने गरी लामो समयको सम्झौता गर्ने अनि अनाथ असहायको नाममा हुने खाने पँहुचवालाहरुकै छोछारोरी पढाउने जस्ता बद्नियत काम गरिरहेको सरकार र सरोकारवाला कहिलेसम्म टुलुटुलु हेरेर बस्ने रु सरकारी जग्गालाई कौडिको भाउमा कब्जा गरेर लुट मच्चाउनेहरुमाथि राज्यले कारवाही गर्दै धरासायी बन्न लागेको नेपाल बाल संगठन बचाउन आवश्यक छ ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode