Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

जनैपूर्णिमा र रक्षा बन्धन धुमधामका साथ मनाइयो (तस्विर)


काठमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन एवम जनैपूर्णिमा आज देशभर धुमधामसँग मनाइएको छ । विहिबार बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिरहेकाछन । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट जोगिने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले दाहिने नाडीमा बाँधिदिने चलन छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्ने गरेका छन ।

व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । रक्षाबन्धन एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ, वसन्तपुर, लगायत देशभरका मठ मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । आजको दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लागेको छ ।


उता तराईका जिल्लाहरुमा पनि हर्षोल्लास र परम्पराका साथ रक्षाबन्धन पर्व मनाइएको छ । दाजुभाइ र दिदीबहिनी बीचको अटूट स्नेहको पर्व रक्षा बन्धनमा आपसी प्रेप, माया, स्नेह साटासाट गरी मनाईएको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन तराईका जिल्लाहरुमा दिदीबहिनीले दाजुभाइको नाडी रक्षासूत्रले सजाउने गर्छन् । रेशमको धागो कच्चो भए पनि यसको पछाडिको स्नेह अतुलनीय र बलियो हुने गरेको छ । दिदी बहिनीहरुले विहानै देखी घर–घरमा रक्षाबन्धनको तयारी गरेका थिए ।

आजको दिन बिहान नुहाएर देवताको पूजा गरेपछि दाजुभाइको नाडीमा रक्षाको धागो बाँधेर दिदीबहिनीले दाजुभाइ बाट जन्मदा सम्म सुख–दुःखमा साथ दिने वाचा लिने चलन छ । साथै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिएर सधैं साथ दिने वाचा पनि गर्दछन् । आजको दिन घरका बृद्धबृद्धाको खुट्टा छोएर आशीर्वाद लिएर अधिकांश दिदीबहिनीले दाजुको नाडीमा राखी सजाएर उपहार लिएर पर्व मनाएका छन् । इन्द्राणीले असुरदेवता संग्राममा इन्द्रलाई रेशमको धागो बाँधेको शक्तिले उनी विजयी भएका थिए त्यस्तै द्रौपदीले भगवान कृष्णको चोट लागेको औंलामा साडीको पट्टी बाँध्नुलाई पनि रक्षा बन्धनसँग जोडिएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode