भीम रावलले रोजे नयाँ यात्रा, ओली भने–सद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि
काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक परिवर्तनपछि जनताको अपेक्षा अनुसार राजनीति, राज्य र दलहरु अग्रसर नभएको उनको निष्कर्ष छ । रावलले आफनो राजनीतिक यात्रा निरन्तर अघि बढ्ने उद्घोष गरेका छन् ।
उनले भने, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।’
उनले राष्ट्रभक्तिपूर्ण कवितबाट सुरु गरेका थिए ।
यस्तो थियो रावलको कविता :
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले निरकुश र तानाशाही शैलीको विरोध गर्दा आफू कारवाहीमा परेको स्पष्ट पारे । ओलीका कारण एमाले मात्र नभइ सिंगो देश नै समस्यामा परेको उनको आरोप छ ।
उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् । ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ ।
रावलले ओलीलाई कैयौँ प्रश्नसमेत गरेका छन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका प्रश्न उठाएका छन् ।
रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् । उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो ? भन्दै प्रश्न गरे । उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भएपनि रद्द गरेको आरोप लगाए। उनले ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरेपनि वास्ता नगरेको बताए ।
उनले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे । नेता रावलले मुलुकको समग्र परिस्थितिको चित्रण गर्दै कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ विचारमा गोलबद्ध हुनुपर्ने अवस्था आएको धारणा राखे ।
एमालेले रावललाई पुस १० गते पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया