नेकपा माओवादी केन्द्रको बैठक : प्रचण्ड र पासाङमाथि प्रश्न, नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले श्रम र उत्पादनमा जोडिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले अध्यक्ष प्रचण्डलाई पनि उत्पादनमा जोड्नुपर्ने बताएका छन् ।
‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा महिनामा तीनपटक अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्ने छ,’ प्रवक्ता अग्नि सापकोटाले भने ।
आइतबार प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रममा सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्ता छन् प्रचण्डले अघि सारेका प्रस्ताव :
१. वैचारिक प्रशिक्षणलाई प्राथमिकता
२. पार्टी संगठनमा युवालाई अवसर
३. पार्टी सदस्यता बृद्धिमा लक्ष्य निर्धारण
४. पार्टीमा आर्थिक पारदर्शिता,
५. सरकारविरुद्ध भण्डाफोर अभियान,
६. काठमाडौं उपत्यका र राजमार्गकेन्द्रित अभियान,
७. जातीय क्षेत्रीय मोर्चा पुनः सक्रिय
८. महिलालाई ५० प्रतिशत अधिकार
९. शासकीय स्वरुप बदल्न संविधान संशोधन
दोस्रो दिनको छलफलका क्रममा उनीहरुले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर प्राप्त भएकाले यसका लागि पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिइ । बैठकमा पार्टीको महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांशले धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
‘महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको मिति कार्यतालिका टोक्नुपर्छ भन्ने अधिकांशको भनाइ छ,’ उनले भने, ‘केहीले अहिले नै मिति नतोकौं पनि भन्नुभएको छ । महाधिवेशनको बारेमा मिश्रित कुराहरू आएका छन् ।’
प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन्,’ दोस्रो दिनको बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्छ, उच्च नैतीक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ ।’
त्यस्तै नेताहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन बैज्ञानिक र बस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने धारणा राखेका छन् । केन्द्रीय सदस्यहरुबाट सदन आह्वानका लागि अन्य दलसंग मिलेर दवाव सिर्जना गर्नुपर्ने सुझाव समेत आएको प्रवक्ता सापकोटाले बताए ।
काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने, दण्डहीनताको अन्य हुनुपर्ने, विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । भएका विभागहरुलाई प्रभावकारी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
नेताहरुले उपराष्ट्रपति नन्दकिशोर पुनलाई राजनीतिमा सक्रिय बनाउन नहुने मत पनि जबरदस्त उठेको छ । मुलुकमा गणतन्त्र पर्दापण भएपछिको दोस्रो कार्यकालदेखि ७ बर्ष उपराष्ट्रपति भएका पुन पुनः पासाङ बनेर पार्टीमा फर्किंएका छन । तर उनको यो पुनरागमनको स्वागत नभइ विरोध भएको छ । बैठकको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डको कार्ययोजना प्रस्तावमाथिको छलफलमा पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले जनतामा राम्रो सन्देश नगएको विचार राख्दा हलमा तालीको पर्रा नै छुटयो । राजनीतिमा फर्किएका पुनमाथि नैतिकताको प्रश्न पनि उठेको छ । पूर्व उपराष्ट्रपतिको हैसियतले उनले लिइरहेको सरकारी सुविधा भने त्यागेका छैनन ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगतको दोस्रो दिन सोमबार ८० जनाले नेताले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राखेका छन् । बोल्नका लागि कुल १८० जनाले नाम टिपाएकोले जारी केन्द्रिय समिति लम्बिने देखिएको छ ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया