अमेरिकाले यसपटक पनि पाएन महिला राष्ट्रपति, कमला ह्यारिस जिल्ल

काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनबाट कमला ह्यारिस पराजित बनेकी छन् । पूर्वानुमान र सर्वेक्षणको मतमा डेमोक्रयाट उम्मेद्वार कमला ह्यारिस अगाडि देखिएकी थिइन । ंअमेरिकाको समाजले पनि यसपटक ट्रम्पको तुलनामा कमला नै रुचाइने निष्कर्षहरु निकालेको थियो । तर नतिजा भने अनुमानभन्दा उल्टो आएको हो ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् ।
सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे । डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए । यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए ।
क्याटेगोरी : विदेश
प्रतिक्रिया