ललितपुर नापी र मालपोतका कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालयका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जग्गाको कित्ताकाट गरी धनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले दिएको जानकारीअनुसार सर्वेक्षक यादवसहित लेखापढी काम गर्ने दिनेश बन्जारा र विनोद अधिकारी सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई गत माघ ९ गते पक्राउ गरेको थियो ।
यस्तै लेखापढी व्यवसायी आशिषराज बस्नेत र दिनेश बन्जाराले घुस लिनका लागि सहयोगी भूमिका खेलेको पुष्टि भएपछि उनीहरू विरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी उनीहरूलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
क्याटेगोरी : खोज मिसन
प्रतिक्रिया