शरणार्थी प्रकरणमा रकम संकलनमा सहयोग गरेका हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/05/samser.jpg)
काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेका हुन् ।
उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनी कागजपत्रसहित पक्राउ परेका हुन् । हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीमार्फत प्रकरणका विचौलियाहरुसँग जोडिएका मियाँले आफूले प्रयोग गर्ने गरी गृह मन्त्रालयबाट लिएको गाडी ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई दिएका थिए ।
बीएबी १४०५ नम्बरको उनको गाडीमा भण्डारी, दुलालहरुले चितवनसहित विभिन्न स्थानमा पुगेर पीडितहरुसँग रकम उठाएका थिए । कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई लगेर गणनामा छुट शरणार्थीको फारम उनीहरुले भराएका थिए ।
उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । उनलाई आजै अदालत उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया