नेपाली कांग्रेसको घोषणापत्र : स्यानिटरी प्याड निःशुल्कदेखि संसद विघटन नगर्नेसम्मका प्रतिबद्धता
![](https://www.khojmissionnews.com/wp-content/uploads/2022/10/congress.jpg)
काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ’प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।
शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् ।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ ।
कांग्रेसको घोषणापत्रमा भनिएको छ, ’व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ ।’ वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो ।
कांग्रेसले आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत अड्चनलाई व्यापक नयाँ चरणको ’ओम्निक्स सुधार गर्दै न्युनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ,’ कांग्रेसको संकल्प छ ।
कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको सरकारले संसद्लाई सरकारको ’रबर स्ट्याम्प’ बनाउने दुस्साहस गरेको आरोप लगाएको छ । तत्कालीन सरकारले संसद् र जनताप्रति उत्तरदायी र जवाफदेही नभई कम्युनिस्ट शासनमा जस्तो सम्पूर्ण अधिकार केन्द्रिकृत गरी सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ’नेकपाको नेतृत्वमा सरकार बनेको घडीदेखि नै सुनियोजित रूपमा सार्वभौम संसदलाई सरकारको ’रबर स्ट्याम्प’ बनाउने दुस्साहस गरियो ।
सर्वोच्च अदालतको फैसलाले संविधान, संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा मात्रै गर्दै भविष्यमा समेत कसैले लोकतान्त्रिक प्रणाली तथा संविधान माथि अवाञ्छित अतिक्रमण र आक्रमण गर्न नसक्ने संवैधानिक सुनिश्चितता गरेको कांग्रेसको भनाइ छ । कांग्रेसले आगामी प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने प्रतिज्ञा गरेको छ ।
साथै दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने पनि कांग्रेसको प्रतिज्ञा छ । त्यस्तै घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने पनि उल्लेख गरिएको छ ।
कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ । कांग्रेसले घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने लक्ष्य लिएको छ । सबैलाई स्वास्थ्य बीमा र सबल स्वास्थ्य प्रणाली स्थापना गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पु¥याउने घोषणा गरिएको छ ।
३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता, बीमा रकमको दायरा बढाई १० लाख पु¥याइने, ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
घोषणा पत्रमा स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने प्रतिवद्धता जनाएको छ । स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी कानुनको अभावमा स्थानीय तहदेखि संघीय संसदसम्म स्वार्थ समूहको प्रभावमा परिरहेको भन्ने सम्बन्धमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो घोषणा पत्रमा स्वार्थको द्वन्द्वसम्बन्धी एकीकृत कानुनसम्बन्धी कानुन ल्याउने प्रतिवद्धता जनाएको हो ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया