सांसद तोसिमा कार्कीको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्र ललितपुरको आपत्ति
ललितपुर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का जीवन संगिनी सीता दाहालको अन्तिम संस्कारमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सासंद तोसिका कार्कीले दिएको अभिव्यक्ती प्रति नेकपा माओवादी केन्द्र ललितपुरले खेद प्रकट गरेको छ ।
बिहिवार पार्टी कार्यलयले एक विज्ञप्ती जारी गदै बुधवार सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पुगेकी ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कार्कीले माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा सञ्चार माध्यमसँगको कुराकानीमा दिएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो । कार्कीले दिएको अभिब्यक्ति असंवेदनशील रहेको निष्कर्ष प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्कीको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । यस्तो थियो कार्कीको अभिव्यक्तिको एक अंश : ‘हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ ।’
प्रचण्डकी श्रीमती सीताको जटिल रोगको उपचार देश तथा विदेशमा धेरै पटक गराउँदा पनि निको नभएको थाहा हुँदा हुँदै प्रचण्डले श्रीमतीका लागि केही गर्न सक्नुभएन भन्ने आशय व्यक्त गरेपछि कार्की आलोचित भएकी हुन् । उनी आफैैँ चिकित्सकसमेत भएकाले यति कुरा जान्नुपर्ने सर्वसाधारणको प्रतिक्रिया छ ।
यस विषयमा कार्कीले माफी मागिसकेकी छिन् । आफ्नो भनाइलाई तोडमोड गरी सार्वजनिक गरिएकोमा असन्तुष्टी जनाउँदै उनले कसैको भावनामा चोट पुगेकोमा क्षमा मागेकी हुन् ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया