नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा (तस्विरमा हेर्नुहोस्)
काठमाण्डौ । नेपालकै पहिलो सुरुङमार्गको रुपमा निर्माणाधिन नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । काम सुरु भएको चार वर्षमा ८९.२० प्रतिशत सुरुङ खनिएको छ । तर समग्र आयोजनाको भौतिक प्रगति ५५.१३ प्रतिशत छ । मुख्य सुरुङको दूरी २.६८८ किमि रहेकोमा गत असार २९ सम्म २.१६३ किमि अर्थात् ८०.५ प्रतिशत खनिसकिएको छ । त्यस्तै आपत्कालीन सुरुङ २.५५७ किमि खन्नुपर्नेमा अहिलेसम्म २.५०१ किमि खनिसकिएको छ । जसअनुसार मुख्य सुरुङ ५२५ मिटर र आपतकालिन सुरुङ खन्न ५६ मिटर मात्र बाँकी छ ।
अब कुनै समस्या नआए चार महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रु हुने जनाइएको छ । त्यसका लागि नागढुंगा–नौबिसे सुरुङमार्गमा काठमाडौं र धादिङ दुवैतिरबाट अहिले एकसाथ ६०० जनालाई दुई सिफ्टमा काम लगाइएको छ । ०७६ कात्तिकमा सुरु गरिएको यो सुरुङको सम्झौता अनुसार ४२ महिनाभित्र निर्माणको काम सक्नुपर्ने हो । शुरु ठेक्का सम्झौता अनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र थियो । उक्त समयभित्र काम नसकिएपछि पहिलो म्याद ०८० साउन ४ सम्म थप गरिएको हो ।
उक्त समयभित्र पनि काम नसकिएपछि ०८१ वैशाख १३ सम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ । सुरुङको प्रगति अवस्था बुझ्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई सहितको टोली मंगलबार त्यहाँ पुगेको थियो । उक्त टोलीले धादिङ र काठमाडौंतर्फको सुरुङ निर्माणको स्थलगत अनुगमन गरेको छ ।
निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको लगानी रहेको छ ।
तस्विरमा हेर्नुहोस् :
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया