विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोली लाखौँ रकम ठगी
काठमाण्डौ । प्रहरीले विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भिम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचर लगाएतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुबाट दुई लाख रुपैया, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप लगाएत बरामद भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया