जोसुकै होस्, छोड्दिन : गृहमन्त्री श्रेष्ठ
काठमाण्डौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् । शनिबार बिहान राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । साथिभाई, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ । सरकारले आर्थिक सामाजिक विकास संगै सुशासन र संमृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यावरोधको स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ ।
शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने बताए । सुशासन कायम गर्दै आर्थिक–सामाजिक समृद्धि हासिल गरेमा मात्र नै शहीदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उनले बताए । कार्यक्रममा प्राइम एचडी टेलिभिजनका अध्यक्ष ऋषि धमला लगायतलाई सम्मान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया