संवैधानिक परिषद निकम्मा हुँदा प्रधानन्यायाधीश सिफारिसमा विवाद
काठमाण्डौ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बसेको बैठकमा सहमति जुट्न नसकेको हो । आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
अर्को बैठक साउन १८ गते ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए । उनले अरु थप केही नबताए पनि दलीय भागबण्डामा विवाद हुँदा प्रधानन्यायाधीश सिफारिस हुन नसकेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
संविधानको धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ । हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया